"खुला किताब" (र तिनलाइ पढ्ने) हरुका नाममा
युट्युबमा उपलब्ध "हेर्ने कथा"मा हालसालै प्रसारण भएको एउटा कथा छ , "सुगन्धी कथा"। प्रेमको, मित्रताको, सामर्थ्यको, सपोर्टको, साझेदारीको, निशर्त मायाको, स्वतन्त्रताको, निजत्व (इन्डिभिजुआलिटि) को सम्मानको, र अरु धेरै कुराको कथा हो यो । के के को कथा हो भनेर थाहा पाउन एकपटक हेरेको राम्रो । एउटा परिवारको यो कथाले हामी मध्ये धेरैलाई जो सार्वजनिक खपतका लागि धेरै ठूला कुरा बोल्छौँ, लेख्छौँ, तर घरमा, समाजमा, परिवारमा कति ढोंग र द्वैधता बाँचिरहेका छौँ भनेर झस्काउन सक्छ । कम्तीमा म झस्केँ । यो कथा हेरेपछि मैले आफूले एउटी आधुनिक र प्रजातान्त्रिक महिला, श्रीमती र आमाको रुपमा आफुलाई दाबी गरेर बाँचिरहेको जिन्दगीमा पनि कति धेरै द्वैधताहरु बाँचिरहेको रहेछु भनेर झस्केँ । पत्रिकामा, सार्वजनिक बहसमा, चिया गफमा धेरैपटक सार्वजनिक खपतका लागि ठूला गफ दिने म आफैले घरभित्र मेरो लोग्ने र मेरा छोराछोरीको,आमाबुबाको, भाइबहिनीको, बुहारीहरुको, स्वतन्त्र पहिचानको, गतिविधिको, निजत्वको कति सम्मान गरेको रहेछु, म कति प्रजातान्त्रिक रहेछु, मेरो उनीहरु प्रतिको प्रेम कति निशर्त रहेछ त ? लगायत धेरै प्रश्न मैले आफैलाई गरेँ ।
सुगन्धी कथाका पात्रहरुले हामीले जसरी प्रजातन्त्रका, पहिचानका, निजत्वका, मर्यादाका बारेमा लेखिएका ठेली घोकेका छैनन् । सार्वजनिक रुपमा औपचारिक कार्यक्रममा यस्ता कुरा फलाक्न सकेपछि मात्र 'ज्ञानी' भइटोपल्ने सामाजिक प्रचलन अनुसारको औपचारिक शिक्षा र त्यस्ता कार्यक्रममा उपस्थिति जनाउनका लागि चाहिने प्रसिद्धि उनीहरुमा छैन । तर घरभित्र उनीहरुले यी सम्पूर्ण कुरा व्यबहारमा उतारेका छन् । संसारै बदल्ने गफको दुनियाबारे अत्तोपत्तो नभएको, आफैमा मग्न एउटा परिवारले हामीलाइ कुनै ठूला गफ नगरीकन सिकाउँछ, मान्छेले प्रजातान्त्रिक हुने, निजत्वको सम्मान गर्ने, द्वैध चरित्रधारी नहुने आदि अभ्यास कम्तीमा घर-परिवारभित्र त गर्न सक्दोरहेछ ।
तर मैले यहाँ सुगन्धी कथा बारेमा लेख्न लागेको होइन । मानवीय सम्बन्धका विविध आयाम मध्येका एक आयाम बारे हो । सुगन्धी कथामा देखिएका धेरै कथामा एउटा मित्रताको कथा पनि छ । मित्र मूल्यवान हो कि समाजको रुढीवादितालाई सघाउने गरी आफैले बाँचिरहेको द्वैध चरित्र र विरोधाभाष ठूलो हो भन्ने बारेमा पनि कथामा छ । मैले यहाँ लेख्न लागेको पनि मित्रताको बारेमा हो । मित्रताको मूल्य कति हुन्छ, र मित्रको मूल्य र मर्यादाको रक्षा गर्न कुनै व्यक्तिले आफ्नो परिधि कतिसम्म धकेल्न सक्छ वा धकेल्न सक्नु नै पर्छ भन्ने बारेमा हो । त्यसको लागि उसले समाजको मात्र होइन, आफैले बाँचेका विरोधाभाषको सामना कसरी गर्छ भन्ने बारेमा हो । मैले त्यसको सामना वर्षौँदेखि कसरी गरिरहेको छु भन्ने बारेमा पनि हो ।
र यो म एकजनाको कथा र मसँग जोडिएको एकजना मात्रै व्यक्तिसँग जोडिएको कथा पनि होइन । मसँग जोडिएका एकभन्दा धेरै व्यक्तिसँगको मेरो अनुभव हो । र मेरा केही साथीहरुसँग गफ गरिसके पछि उनीहरुले पनि उनीहरुसँग जोडिएका केही व्यक्तिसँगको अनुभव बाँडिसके पछि लेखिएको कथा हो । यो हामीले हिजोआज मात्र भोगेको कुरा पनि होइन, वर्षौँ अघिदेखि भोगिरहेको कुरा हो । यो लेखमार्फत म, मैले र मेरा साथीहरुले आजसम्म मित्रताको नाममा के दिइरह्यौँ र के पाइरह्यौँ भन्ने बारेको अनुभव लेखेर उनीहरुको पनि प्रतिनिधित्व गर्दैछु उनीहरुकै मन्जुरीमा । त्यसैले यो हामी सबैको लेखाइ हो । दुइजनाको चाहिँ नामै लिएर भनिदिन्छु । मसँग आफ्नो अनुभव बाँडेकोमा दुइजना "खुला किताब" अविवाहित बबिता राई र विवाहित र हुर्केका छोराछोरीकी आमा अभिलाषा शर्मालाई धन्यवाद ।
**********************************************************************
केही दिन अगाडि काम विशेषले पोखरा बाहिर गएको थिएँ म । सामाजिक सन्जालबाट चिनजान भएको र एकपटक मात्र भेट भएको एकजना साथीको शहरमा जानुपर्ने थियो उनले गरिरहेको कामबारे बुझ्न । वैचारिकताको हिसाबले सधैँ मलाइ उ मेरो वृत्तमा अटाउने मान्छे होइन अर्थात अंग्रेजीमा "हि इज नट माइ टाइप" नै लागिरह्यो । वैचारिक रुपमा धेरै कुरामा असहमत छु तर केही कुरामा तिम्रो उत्साही प्रकृति र गरेका काम मन पर्छ भनेर मैले उनलाई सधैँ सामाजिक सन्जालमै सार्वजनिक रुपमै पनि भनि नै रहेँ र त्यो दिन पनि बारम्बार भनेँ ।
पोखराबाट लगभग आधा दिन लाग्ने ठाउँमा जान हतारहतार एकाबिहानै घरमा खाना खान खोज्दा मैले सकिन । साढे एक बजे आसपास म उक्त बजारमा झरेँ । होटलमा केही खाएपछि मात्रै उनलाई भेट्ने छु, बिहान राम्रोसँग खान सकिन भनेर फोन गरेँ । उनी मैले खाइ सकुन्जेल कुरे र आए । त्यतिबेला सम्म आफूले पनि खाना खाएको छैन भने । आफ्नो कार्यस्थलमा लगेर बिजनेस पार्टनरसँग चिनाएर उनी कुनबेला निस्केर गए मैले थाहा पाइन । तीन बजे आसपास मलाई फोन गरेर भने, "तपाईंको लागि पनि खाना अर्डर गरेको छु ।" उनको पार्टनरले पनि खाना नखाइ मलाइ समय दिइरहेका रहेछन् । खाना खाँदै मैले उनीहरूको काम बारेको जानकारी लिइसकेर अब पोखरा फर्कन्छु भनेँ । कहाँ हाम्रो गाउँ नहेरी जाने ? कामको शुरुवात भएकै त्यही ठाउँबाट भने ।
बजारबाट सात किलोमिटर माथि डाँडाको गाउँमा मैले हुन्छ जान्छु भनेँ । उनको मोटरसाइकल पछाडि बसेँ । कच्ची बाटो हुँदै जाने रैछ । बाटोमा जाँदा त्यो झमक्क अँध्यारोमा पनि उनले गाउँमा भेटेको जति मान्छेलाइ, उहाँ यस्तो उस्तो मान्छे, यो कामको लागि आउनुभएको भनेर मोटरसाइकल पछाडि बसेकी मलाइ चिनाइ रहे । मैले, होइन म उहाँको साथी मात्रै हुँ, यो अतिशयोक्ति नपत्याउनु भनिरहेँ । एउटा घरमा मान्छे मरेको भनेर गाउँमा हुलका हुल मान्छे आएका थिए कहाँ कहाँबाट । हरेक जसोलाइ अँध्यारोमा पनि मोटरसाइकल रोक्दै चिनाए । हामी उनको घरमा गयौँ, आमाबुबासँग चिनजान गरेँ । खाना खाएर उनकी आमासँगै म ११ बजेसम्म गफ गरेर बसेँ । पछि सुत्नको लागि दस पन्ध्र मिनेट पर डाँडामा रहेको अर्को घरमा जाने भने । त्यो घर कुर्ने भाइ पहिल्यै गइसकेका थिए । मलाइ फेसबुकमा फोटो देखेर हतारहतार भेट्न आइपुगेका अर्का साथी, बजारमै भेट भएका उनका पार्टनर गरेर म तीनजना पुरुषसँग उकालो लागेँ । न उनका बाउआमाले केही भने, न उनलाई घरमा नभएकी आफ्नी श्रीमतीको डर थियो, न मलाइ पोखरामा छोडेर आएको आफ्नो लोग्नेको डर थियो ।
उनले "उहाँलाई भोलि बिहान ब्रेकफास्ट नखुवाइ पठाउने कुरा हुन्न आमा, पिठो र दुध दिनुस्" भनेर बेलुकै लिएर गएका थिए । हामी माथि गयौं । एकछिन आगो बालेर गफ गर्यौँ ,सुत्यौँ । मलाई चारजना पुरुषसँग त्यो एक्लो गाउँमा एक्लो घरमा एक रत्ति पनि असुरक्षित महसुस भएन । भोलिपल्ट जानी नजानी रोटी र चिया खुवाए । उनीहरुले मलाइ यति सहज र सुरक्षित र मूल्यवान महसुस गराए , एक वर्ष यता देश काल परिस्थिति बारेमा बिरलै "गफ दिएकी" मैले उनीहरुसँग घन्टौँ एकोहोरो गफ गरेँ । घर कुर्ने भाइ एकाबिहानै कलेज गइसकेका थिए । अरु दुइजना साथी एउटा मोटरसाइकलमा र म फेरि उही साथीको मोटरसाइकलमा सँगै ओरालो लाग्यौँ । उनले फेरि गाउँमा भेटेको जति मान्छेलाई मलाई चिनाए । तल खोला, माथि डाँडा छ, गाउँमा उनको मोटरसाइकलमा म बसेको पर परबाट देखिन्छ । तर उनी ढुक्कसँग मलाई लिएर हिँडेका छन्, बाटोमा जम्काभेट भएपिच्छेका मान्छेलाई मलाइ चिनाएका छन् । बरु म पो डराएको छु, श्रीमती गाउँमा छैन र यो मलाइ हिजोदेखि बोकेर हिँडेको छ, गाउँलेले यसलाई के भनेका होलान् भनेर उनको तर्फबाट । उनले त थाहा पाएनन् तर उनको मोटरसाइल पछाडि बसिरहँदा म निकै भावुक भएँ, सुटुक्क आँसु पुछेँ ।
त्यो साँझ, रात र बिहान पुरै थेराप्युटिक थियो । म त्यो अनुभवलाई कुनै अत्तर जसरी सुरक्षित राख्छु कसैलाई भन्दिन, उडेर सकिन्छ भन्ने थियो । तर एक हप्तापछि बबितालाई सोधेँ मैले, "म किन भावुक भएँ होला ?" उनले भनिन्, "आजसम्म योभन्दा अगाडिका हाम्रा अरु "मित्र"हरुको लागि लुकिँदिँदाको "ट्रमा" (मानसिक आघात भन्न मिल्ला कि नेपालीमा?) हामीमा भित्रभित्र थाहै नपाइ थुप्रिएको हुँदोरहेछ, त्यही ट्रमा बल्झेर तपाइ भावुक हुनुभयो । मेरा पहिलाका प्रेमीमध्ये एउटाले भन्थ्यो, "मेरो घर छेउबाट नहिँड", अर्कोले भन्थ्यो, "बाउ आमाको अगाडि फोन उठाउन सक्दिन" , "बाउ आमा अर्को कोठामा छन्, सुन्छन् , सानो स्वरले बोल ।" त्यही बानी लागेको रैछ, यतिबेलाको मेरो प्रेमीलाइ म तिमीसँगको फोटो फेसबुक स्टोरीमा राखुँ भनेर बारम्बार सोध्छु, "राख न, तिम्रो प्रेमी भनेर चिनिन पाउनु मेरो लागि गर्वको विषय हो" भन्छ । उसले आफ्ना परिवारका सबैलाइ मेरो बारेमा बताइसक्यो, उसको डेरामा जान्छु, उसले र उसका साथीहरुले गरेको सम्मान देख्छु, गरेको त उनीहरुले राम्रो व्यबहार हो तर म हरेकपटक जस्तो रुन्छु । किन रुँदोरैछु भनेको त आजसम्म "अवैधानिक" बन्न परिरहेको पुराना ट्रमा सम्झेर पो रोएको रैछु ।"
त्यो रात बबिता र मैले लामो कुरा गर्यौँ राति दुइ बजेसम्म । कि हामीले आजसम्म आफूले आफ्ना पुरुष मित्रबाट पाउनुपर्ने आधारभूत पहिचान र मर्यादा पनि पाएका हुँदा रहेनछौँ र कसैले थाहै नपाइ, स्वाभाविक रुपमै हामीलाइ साथीको रुपमा दिइरहेको आधारभूत पहिचान अर्थात बेसिक रिकग्निसन पाउँदा पनि रुने बनेछौँ । बबितालाई मैले "यो मान्छे पिएचडी पनि होइन, लैंगिक समानताका ठूला थ्योरी घोकेको पनि होइन बरु सार्वजनिक रुपमा उसका अभिव्यक्ति हरुसँग मेरो सधैँजसो असहमति रह्यो तर वास्तविकतामा उसले समानता र सम्मान भन्ने कुरा प्राक्टिस गरेको रैछ व्यवहारमै" भनेँ ।
धेरै अघिदेखि मित्रताको नाममा मैले बोकिरहेको अमर्यदाको बोझ बारेमा आफैलाई र आफ्ना पुरुष साथीहरुलाई धेरैपटक गुनासो र प्रश्न गरिसकेको थिएँ मैले । धेरैपटक उनीहरुलाई अलि नराम्रैसँग भनेँ कि भनेर उल्टो ग्लानिसमेत महसुस भएको थियो मलाइ । बल्ल पो मलाइ म किन रोएँ, भावुक भएँ भनेर थाहा भयो । त्यो साथीले त आफ्नो साथी वा पाहुना ठानेर मलाइ दिइनुपर्ने आधारभूत आतिथ्य मात्र न दिएको थियो । उसले म कुन लिंगको हुँ भनेर अतिरिक्त सचेत नभइकनै त्यो सबै दियो तर मैले आजसम्म स्त्री लिंगी भएकै आधारमा आफ्ना घनिष्ठ भनिने मित्रहरुको जिन्दगीमा असर नपरोस् भनेर कतिसम्म पछि हटेको, कतिसम्म लुकेको, कतिसम्म अमर्यादित व्यवहार भोगेको रैछु । कि अवचेतनमै रहेको त्यो मानसिक आघातले मलाइ थाहै नपाइ त्यहाँ रुवाएको रैछ ।
यो यात्रा र यसपछिको बबितासँगको कुराकानीपछि मेरो दिमाग नराम्ररी हल्लियो । रगत नराम्ररी उम्लियो । बबिताको त अझै नेपाल जस्तो "लभ गरे बिग्रने" भनिने समाजका प्रेमी, त्यो पनि बिसे बाइसे उमेरका, ४० काटुन्जेल बुझ्ने भइसक्लान्, यस्तो बानी त्याग्लान भनेर आस पनि गर्न सकिएला । भविश्यमा सुध्रेलान् कि भनेर त्यति सन्देहको लाभ दिन सकिएला कि ? हुनत त्यो पनि दिइनु पर्ने कुरा होइन । मेरा त विशुद्ध साथीहरु हुन् उनीहरु । अधबैँसेहरु हुन् । सार्वजनिक वृत्तमा महिला पुरुष समानताको बारेमा ठूला कुरा लेखेर बोलेर, आफैले आयोजना गरेर वर्षौँदेखि वाहवाही कमाइरहेका मान्छे हुन् ।
यहाँ कुरा मेरो उमेर र वैवाहिक स्थितिका महिलालाई लुकिलुकि मेसेन्जरमा लाइन हान्ने "अंकल" हरुको बारेमा भइरहेको छैन । "हामी सबै बेला न कुबेला अन्टसन्ट एसएमएस वा फोन गर्छौ तर तिमीहरु त्यो देखेर डराउँछौ भने तिमीहरु द्वैध चरित्र धारी हौ, "घर बचाउन" मरिहत्ते गर्ने हरुले फेमिनिज्मको, नारी मुक्तिको गफ नदेउ" भनेर हामीलाइ "घरेलु महिला" घोषित गरेर च्यालेन्ज गर्ने प्रगतिशील सोल्टीहरु, जसले आफ्नो सार्वजनिक छवि बचाउनका लागि आफ्नै "घर" बचाउन परेको भनेर लाचारी आफ्नै मुखले व्यक्त गरेका छन्, त्यो उदेक बारेमा पनि भइरहेको छैन । कुनै दिन सार्वजनिक वृत्तमार्फत जोडिएका र आज मैले मेरा साथी भनेर निर्धक्क आफ्नो निजी वृत्तमा पहुँच दिएका मेरा "नारीवादी" पुरुष "मित्र" हरुको बारेमा कुरा भइरहेको छ ।
मेरा घागडान "नारीवादी" पुरुष मित्रहरु
एक दशक यता लेखाइ मार्फत सार्वजनिक वृत्तमा सक्रिय रहेपछि मेरो केही पुरुषहरुसँग चिनजान भयो । जसको सार्वजनिक व्यक्तित्व र सामाजिक पूँजी लोभलाग्दो छ । नारीवादी पुरुष भनेर चिनिएका छन्, व्यवस्था परिवर्तनका लडाइ लडेका, अझै नारीमुक्तिको लडाइ लडेका "योद्धा"हरु छन्, महिलाको वस्तुकरणको चरम विरोधीहरु छन्, आ-आफ्नो संस्थामा नारीवादी बहस आयोजना गर्छन्, अरुका संस्थाले गरेका नारीवादी बहसमा सहभागी हुन्छन्, नारीहरु सहभागी नभएको बहस अस्वीकार गर्ने समेतको बडेमानको "नैतिकता" धारी हरु छन्, सामाजिक सन्जालमा भालेवाद विरुद्ध उनीहरुको चर्को स्वरको झन कुरै नगरुँ । अर्थात सार्वजनिक वृत्तमा महिलाहरुले यथोचित सम्मान र मर्यादापूर्ण स्थान पाउनुपर्छ भन्नेमा उनीहरु आफ्नो तर्फबाट मरिमेटि गर्ने हदसम्मको प्रतिबद्ध व्यक्तिको रुपमा परिचित छन् ।
यस्ता समानता प्रेमी, लैंगिक विभेदका विरोधी, "उच्च गुणस्तर"का मान्छेहरुलाई आफ्नो मित्रको रुपमा सार्वजनिक हुँदै नीजि जीवनमा भित्र्याउन पाउँदा मजस्ती कुन चाहिँ महिला खुसी नहोली । म पनि खुसी भएँ उनीहरुलाई भित्र्याएर । मेरो घरमै आएर ढुक्कसँग घन्टौं बसेर जाने सम्मको पहुँच मैले उनीहरुलाई दिएँ । मेरा घरकै मान्छे अगाडि उनीहरुको फोन आउँदा मैले उठाएँ । ढुक्कसँग देश दुनिया बारेमा उनीहरु गफिए, गफिइ नै रहन्छन् । मैले कतिपय अवस्थामा कामै छोडेर पनि उनीहरुसँग गफिएँ । तर कुनै न कुनै बेला मौका पारेर उनीहरु मध्येका हरेकजसोले भनेका छन्, "मलाइ भने तिमी आफ्नो तर्फबाट फोन नगर्नु ,"समस्या" छ ।" अझै घरमा जान पाउने त सम्भावना नै छैन रे। मुखैले सोध्दा अहँ आउन पाउन्नौ मेरो घरमा नै भनेका छन् । कतिपय पटक असाध्यै इमर्जेन्सी परेर फोन गरेको बेला उताबाट अफ गर्दिएको पीरो न पीरो समेत अनुभव मैले भोगेँ । मुखैले खुलस्त भनेका छन्, "मेरो अनुकूलतामा मै गर्छु फोन।" के हो अनुकूलता भनेको ? हाम्रो अनुकूलताको उनीहरुलाइ खोइ चासो ? खोइ सम्मान ? हाम्रो जिन्दगीमा पनि त्यस्तै "समस्या" भए नि ? हामीले उनीहरुको फोन कसरी उठाउँदा हौ ? घरमा आउन कसरी दिँदा हौँ ? त्यसको उनीहरुलाई मतलब भएन ।
र कतिसम्म भने उनीहरुले अनुकूलतामा गरेको कल यदि मिस भयो भने हामीलाइ कल ब्याक गर्ने स्वतन्त्रता समेत हुँदैन । यो २४ घन्टा स्ट्यान्डबाइ बस्नुपर्ने, आउनेबित्तिकै उठाइहाल्न पर्ने र मिस भएपछि, ला केही काम परेर गरेको थियो होला, “विचरा” भन्ने लेबलको मानसिक यातना मैले वर्षौँ भोगेँ । र यो फेरि मैले अनौपचारिक "रंगीन" मित्रताको लागि गरिने फोन वा भेटघाटको कुरा गरिरहेको पनि होइन । कामविशेषले गर्नुपर्ने औपचारिक वा अर्ध औपचारिक फोनको कुरा हो । उनीहरुको शहर गयो, म आएको छु भनेर फोन गर्न पाइँदैन, कतै सामाजिक सन्जालमा फोटो सार्वजनिक भए उनीहरुले गर्छन् "मिलाएर" वा अघिल्ला दिन वा हप्तामा आउँदैछु भनेको आधारमा समय अड्कलेर । कार्यालय बन्द भएको भए घरमा गएर भेट्न पाइँदैन । वा कतिपय समय त म तिम्रो अफिस आउँछु भन्दा नआउ अलि पर "वेट" गर भनेको पनि सहिएको छ ।
उनीहरु मेरो शहरमा आउँदा मेरो घरभित्र त ढुक्कसँग घन्टौँ बसेर गफिएर जान्छन् । घरबाहिर भए के गर्छन् ? बाटोमा उनीहरुसँग मलाइ कसैले देख्ला कि भनेर डराइ डराइ हिँड्छन् । उनीहरु जहाँ आएका छन्, त्यो घरको छेउछाउ त भेट्ने "चान्स" नै हुँदैन । श्रीमती सहित आएको बेला परोस त, बास बसेको घरबाट निकै पर बजारमा पनि भेट्न पाइँदैन । छिमेकीले, नातेदारले, त्यही घरकै मान्छेले देख्लान्, श्रीमती नै निस्केको बेला पर्ला भन्ने डर हो भनेर आफूले स्पष्ट बुझिन्छ तर पनि चुपचाप अपमानको घुड्का पिएर उनीहरुको "साथी" बनिएको छ । कहिलेकाहीँ ग्रुपमा बसिरहेका छौँ, एकजनाले फोटो खिचौँ भन्यो भने सबैभन्दा पहिला नखिच्ने भन्ने उनीहरु हुन्छन् । जसरी कुनै केटी साथी आए ढुक्कसँग दुइजनाको मात्र फोटो खिचेर सामाजिक सन्जालमा हालिन्छ, उनीहरुसँग त्यो दिन आउला भनेर त कल्पना पनि नगरौँ । कसैले हामीसँग मात्र होइन, समूहमै पनि उनीहरुलाई शशरीर वा भर्चुअल दुनियामा देख्ला र "उता" खबर पुग्ला भन्ने त्रास उनीहरुको अनुहारमा प्रष्ट देखिन्छ र पनि बनावटी हाँसो हाँसेर घुटुक्क चिया निलिएको छ वर्षौँदेखि ।
जब उनीहरु आफ्नो शहर फर्किन्छन्, पुग्यौ ? भनेर सोध्न पाइँदैन । ए तिम्रो शहरमा त भुइचालो आयो रे नि तिमीहरु त सुरक्षित छौ ? भन्न पाइँदैन । तिम्रो टोलमा आगलागी भयो रे नि, तिम्रो घरमा त केही भएन ? भन्न पाइँदैन । मित्रतामा हामीले हिसाब खोजेको होइन, व्यापार गरेको होइन तर यस्तो खालको मित्रतामा छ चाहिँ के ? एकोहोरो उर्जाको नाश, अमर्यादा, डर, त्रास मूल्यहीनताको भारी ? त्यो पनि आफ्नो बिना कुनै गल्ती वा अपराध ? आफू स्त्री लिंगी मात्र भएकैमा ?
उनीहरूलाई भेट्दा यस्तो व्यवहार देखाउँछन् कि हामी लागूपदार्थ साटासाट गर्न वा कुनै आपराधिक कामको लागि उनीहरुलाई भेटेका छौँ, सिनेमाहरुमा देखाउँछ नि त्यो ब्रिफकेस साटासाट गरिरहेका रहस्यमय मान्छेहरुका “सन्दीग्ध” गतिविधि ? हो त्यसैगरी । हामीसँग हुँदा उनीहरू बारम्बार टाउको यता र उता घुमाउँछन् । सानोसानो कुरामा त्रसित हुन्छन् । कोही श्रीमती सहित आएको बेला थरथर काम्छन् कोही श्रीमती रहित आएको बेला पनि । यसमा उन्नाइस-बीस बाहेक खासै फरक छैन । श्रीमती रहित आएको बेला ढुक्कसँग बजारमा भेट्नेहरुको पनि सँगै आएको बेलाको हविगति हामीलाई थाहै हुन्छ । आफ्ना श्रीमानकै अगाडि उनीहरुलाई घरमा ल्याउने, घन्टौँ गफ गर्ने, म फलानोलाई भेट्न जान्छु भनेर उसलाई भनेरै घरबाट गएका हामी उनीहरुसँग कुनै सार्वजनिक ठाउँ, चिया पसल, वा बाटोमै समेत "रंगेहात" पक्राउ परिने हो भनेर त्रसित किन भइरहनु पर्ने ?
यतिविघ्न त्रसित उनीहरु किन भइरहेका छन् ? के हो कारण ? महिलाको समान अवस्थाको वकालत गर्ने घागडान पुरुषहरु आफूसँग सार्वजनिक वृत्त वा नीजि चिनजानकै कारणले जोडिएकी किन नहोस्, कुनै महिलासँग बाटोमा हिँड्न, सँगै बसेर चिया खान वा कुनै फोटोमा सार्वजनिक हुन डराउन पर्ने के कारणले भइरहेको छ ? हामीलाई उनीहरूलाई इमर्जेन्सी परेपनि फोन गर्ने स्वतन्त्रता हुँदैन तर उनीहरूलाई मन लागेको बेला ढुक्कसँग आधा घन्टा बिताउँछन् । यो एकोहोरो मनोरन्जनको साधन हामी के आधारमा भइदिइ रहेका छौँ ? यस्तो मित्रता हामीले किन कायमै राखिरहेका छौँ ? एक्लोपनको डरले, अलिअलि सार्वजनिक वृत्तमा उनीहरुको जुन छवि छ, त्यसको प्रभावको कारणले ? उनीहरु प्रति बनेको हाम्रो धारणाको कारणले ? सार्वजनिक वृत्तमा उनीहरुबाट केही पाइने आशले कि बाटोमा भेट हुँदा असहज व्यवहार गर्न नपरोस्, नक्कली हाँसो भएपनि हाँसि रहियोस् भनेर बनावाटीपन कायम राख्नका लागि?
दस वर्षको अवधिमा मैले मेरा पुरुष मित्रहरुसँग यो बारेमा कुरा नगरेको होइन । मैले स्पष्ट सोधेको छु , लैंगिक विभेदको विरोधी व्यक्ति तिमी, मैले महिला भएकै आधारमा तिम्रो नीजि वृत्तमा साथीको पहिचान र पहुँच नपाउनु आफैमा लैंगिक विभेद होइन ? तिमीले ममाथि लैंगिक विभेद गरेको होइन ? र मैले सहेको होइन ? यो कुरा मैले एकभन्दा बढी पुरुष मित्रलाई सोधेँ । सबैबाट उस्तै, "यस्तै छ, व्याख्या गर्न गाह्रो छ, कुरा बुझाउन गाह्रो छ, मसँग आफ्नो नालायकीको कुनै जवाफ छैन" आदि मात्र जवाफ पाएँ । आजसम्म मैले ठीकै छ, साझा समस्या रहेछ, विचराहरु पीडित हुन्, म त होइन भनेर उनीहरुसँगको मित्रता कायमै राखेँ । सोचेँ, म त आफ्नो पुरुष मित्रसँग निर्धक्क संगत गर्न सक्ने क्षमताको छु नि, उनीहरुमा छैन त्यो क्षमता । आजसम्म मैले यो व्यवहार यही सोचेर सहेँ । विचरा उनीहरुमा हिम्मत छैन, म मा त छ नि भनेर सहेँ । नेपाली समाज हो, "पुरुषका पनि पीडा" होलान् । शंकालु श्रीमान भएको जस्तै शंकालु श्रीमती पनि हुन सकिहाल्छन् । मलाइ लागेछ क्याहो, त्यो "क्षमता" म मा जन्मजातै थियो ।
यस्तै सोचेर मैले आफ्नो तर्फबाट निर्वाह गर्ने मित्रताको मूल्यमा एक रत्ति पनि कमी हुन दिइन । शायद उनीहरूको सार्वजनिक छविकै कारणले मैले सोचिरहेँ, "विचरा" हरु असल, महिलामैत्री मान्छे त हुन् तर "पीडित" छन् । म त छैन नि । म पो खुला किताब हुँ, उनीहरु त होइनन् नि, नहुन पाउँछन् नि । शायद मैले आजसम्म यही सोचेँ र मेरा साथीहरुले मलाइ शौचालय जानेबेला खोकिलामा लुकाएर लैजाने, त्यहीँ बसेर दुइ चार च्याप्टर पढ्ने र बाहिर निस्कँदा फेरि लुकाएर निस्कने खालको "खुला किताब"को दर्जा दिएको सहिरहेँ ।
तर यतिबेला मलाइ नराम्ररी महसुस भयो, पितृसत्तात्मक नेपाली समाजको अझ खस समुदायको आमा , छोरि बुहारी श्रीमती र राज्यले दोस्रो दर्जाको नागरिक करार गरेको लिंगको व्यक्तिको रुपमा हाम्रा दैनिक जीवनका भारी के यसै कम छन् ? के नपुगेर यो अमर्यादाको भारी बोक्ने ? किन कसैको "साथी" लुकिलुकि भइदिने ? र फेरि यो सबै हामीले कुन अपराध गरेको आधारमा भोग्न बाध्य हुने ? उनीहरुलाई सकेजति सम्मान पहिचान र पहुँच दिने उनीहरुको स्त्री लिंगी साथी भएबापत ? उनीहरुको "साथी" पहिचानको संरक्षण मैले कुनकुन परिधिहरु नाघेर गरेको छु भनेर याद आइरह्यो । हामीले फरक लिंगको भएबापत उनीहरुलाई दिने सम्मान र पहिचानमा कुनै कमी आउन नदिने तर हामीले भने फरक लिंगको भएबापत पाइला पाइलामा अमर्यादा भोगिरहन पर्ने किन ? त्यो पनि वर्षौँदेखि ।
"खुला किताब" हरुका नखुलेका पाना
हामीलाई दिइने सास फेरेको जत्तिकै आधारभूत मर्यादा र रिकग्निसनको कारणले पनि रोइने गरी हामी अमर्यादाको भारी बोकेर हिँडेका रहेछौँ भन्ने बहसको केही दिनपछि बबिताले मलाइ डेजी बराइलीले गाएको, "एउटा खुला किताब हुँ म तिमीले पनि पढे हुन्छ" गीतको युट्युब लिंक पठाइन् । मलाई दिमागमा आयो: खुला किताब त हुँ, तर यसको मतलब यो होइन कि मलाई कसैले घरको कुनै कुनामा लुकाएर-कोचेर राखोस् र ट्वाइलेटमा लुकेर मात्रै पढ्न सकोस् , पस्ने निस्कने बेला लुकाएर पसोस्-निस्कोस् ।
म, अभिलाषा वा बबिता जस्ता "खुला किताब" नै त फेरि नेपाली समाजमा सार्वजनिक खपतको लागि ठूलाठूला गफ दिने मर्दहरुका डिटक्स गर्ने, मन हल्का गर्ने, आफूलाई भल्नरेबल प्ले गरेर हाम्रो समय खपत गर्ने उनीहरुका कथित साथी हौँ भनेर हामीले गफ गर्यौँ । जो ढुक्कसँग परम्परागत भाषामा "केटा जसरी" नै केटाहरुसँग निसंकोच गफ वा अन्य खालको "संगत" गरिदिन्छन् । मान्छेहरु कति सजिलै भन्दिन्छन्, तिमी त कडा छौ, खतरा छौ, तिमीजस्तो सबै हुन सक्दैनन् । म वा मेरा साथीहरु खतरा, कडा वा "खुला किताब" बनेको यत्तिकै हो ? जन्मजातै हो ? कि त्यसमा वर्षौँ लामो लगानी छ जो भावनात्मक रुपमा निकै उद्वेलित बनाउने ओभरह्वेल्मिङ अनुभव सहितको छ ?
आज म मेरा बाउआमाको घरमा जान्छु नारायणगढ । कुनै नीजि भेटघाट वा सार्वजनिक कार्यक्रमबाट फर्कन ढिला भए फोन गरेर भन्छु , "दसभन्दा बढी बज्छ तपाइहरु सुत्नुस् ।" बुबाले भन्नुहुन्छ, "ठीक छ, म बैठक कोठामा ढोका नलगाइ सुत्छु, तँ आएस् र ढोका लगाएस् ।" म साढे एघार बाह्रको आसपासमा आउँछु र ढोका लगाउँछु ।" मेरा र मेरा भाइबहिनीका स्कुल-कलेजका, वा सार्वजनिक-नीजि जीवनसँग जोडिएका केटा न केटी साथीहरुको, नारायणगढको मेरो घरमा निर्बाध प्रवेश हुन्छ; रात न दिन । दिउसो त भैगो, राति ढिला पुग्दा जागै रहेको भए मसँगै मेरो बुबाआमा पनि उनीहरुसँग गफ मिसाउनुहुन्छ । कुनबेला के पो खायौ, खीर पकाइदिएको छौँ, खाएर सुत भन्नुहुन्छ । लामो समय संयुक्त परिवारको संरचनामा रहेका र आज पनि जोडिएको घरमा बस्ने हाम्रो परिवारमा हरेक बिहान दस बजेसम्म परिवारका मान्छे बसेर थुप्रै सामाजिक राजनैतिक विषयमा छलफल हुन्छ । यस्तो बेला धेरैपटक आमाले त आफ्नो लवजमा बुबा र काकाहरुसँग खुलस्त भन्नुभएको छ, छोरीहरुले कतैबाट आएर "म बलात्कृत भएँ" भन्दाको घडीमा पनि नझस्किकन, अनुहारको भाव नबदलिकन त्यसपछिको कानुनी लडाइ र भावनात्मक साथको लागि हामी तयार हुनुपर्छ । म र मजस्तै लेख्ने एकजना साथीको अगाडि आमाले पाँच वर्ष अगाडि भन्नुभयो, "बलात्कार हुनेको होइन, गर्नेको इज्जत जाने स्थिति नआएसम्म तिमीहरुले लेखेको सफल हुँदैन ।"
यो सबै स्थिति हाम्रो घरमा आफै आएको होइन । मेरा बाउआमा, काकाकाकी पनि यही रुढीवादी समाजकै उत्पादन हुन् । उनीहरुलाइ पनि शुरुमा छोराहरु केटीको वा छोरीहरु केटाहरुसँगको संगतले "बिग्रन्छन्" कि भन्ने भएकै हो । शुरुशुरुमा केटाकेटी यसरी छ्यालब्याल संगत गर्ने कुरा उनीहरुलाइ अनौठो लागेकै हो । मेरो बाउआमा र काका काकी हामी छोराछोरीको केटा-केटी साथी बारेमा कन्भिन्स हुनु पनि एउटा प्रक्रिया थियो । हामीले आमा बाउ वा काका काकीलाई लोग्नेमान्छे र स्वास्नी मान्छेको सम्बन्धमा “रोमान्टिक” मात्र आयाम होइन भनेर कन्भिन्स गरेको यो प्रक्रिया धेरै लामो नभएपनि सजिलो पनि थिएन ।
तर जब उनीहरुले दुनिया देखे, आफू पनि सामाजिक संघसंस्थामा सक्रिय भए ,कलेज पढ्ने उमेरदेखि नै सार्वजनिक वृत्तमा सक्रिय आफ्ना छोराछोरीहरुको दैनिकी देखे, आफ्ना र उनीहरुका दुबैका केटा केटी साथीहरुलाई घरमा आएको देखे । नल्याइ संभव नहुने अपरिहार्यता देखे । लोग्नेमान्छे र स्वास्नीमान्छेका सम्बन्धका विविध आयाम हुने रहेछन्, सहकार्य बिना दुनिया चल्न संभव रहेनछ भनेर व्यवहारमा देखेर, भोगेर बुझे । "आमाका दोस्त" आए भनेर हामी उहिल्यै दुइ तीनजना ७०-८० नाघेका अंकल, हजुरबाहरु घरमा आए भने भन्ने गर्थ्यौँ । पाँचजना छोरीहरुका बाउआमा बनेकोमा वर्षौँसम्म प्रशस्त लान्छना सुनेका मेरा बाउआमाले आफ्ना छोरीहरुको जिन्दगीमा जोडिएको कुनै व्यक्तिलाई लिंगको आधारमै घरजस्ता नीजि वृत्तमा प्रवेश नदिइनु भनेको अज्ञान मात्र होइन अमर्यादा नै हो भनेर त पच्चीस वर्ष अगाडि नै थाहा पाए ।
सार्वजनिक वृत्तबाट जोडिएका "ठूला" मान्छे मात्र होइन, मेरा कलेजका केटा साथीहरु त्यो ल्यान्डलाइन फोनको जमानामा मसँग ढुक्कसँग आधा घन्टा गफिइसकेपछि मेरी आमासँग गफिएका छन् । घरमा आएर घन्टौँ बसेका छन् । बिभिन्न संस्था वा कार्यालयमा कार्यरत उनीहरुको सहयोग चाहिए बुबा आमाले ढुक्कसंग मलाइ "तेरो फलानो (केटा)साथीलाइ भन्दे न" भन्नुभएको छ । किशोरी उमेरदेखि आजसम्म आफ्ना छोराछोरीसँग जोडिएका पुरुष-महिला मित्रहरुलाई निर्धक्क घरमा स्वागत गर्ने मेरा वृद्ध र साधारण बाउआमा हेर्छु । र बडेमानका डिग्रीधारी र सार्वजनिक वृत्तका "महिलामैत्री" मेरा पुरुष "मित्र" हेर्छु । कसको चेतनाको स्तर कहाँ रहेछ भनेर चकित पर्छु । हामीलाइ आधारभूत मर्यादा दिन एक प्रतिशत पनि कोसिस नगरेर उनीहरुले हामीलाइ आफ्नो जीवनमा दिएको स्थान र स्तर हेर्छु र निरास हुन्छु । सार्वजनिक वृत्तमा त्यति ठूला गफ दिने हदको आत्मविश्वास कसरी आएको होला भनेर चकित पर्छु ।
मेरो श्रीमानको नि त्यही हो । केटा साथीको मामलामा कम रुढीवादी भएपनि मैले उसलाई मेरा र तिम्रा साथीहरूको शैक्षिक योग्यता फरक छ विविध उमेरका छन् , तिम्रा जस्ता “प्राज्ञिक" पेशामा भएका र प्राज्ञिक गफ मात्रै गर्नेहरु छैनन्, हामीले गर्ने गफको विषय, गफको लवज, प्रयोग गर्ने शब्द, आवाजको इन्टेन्सिटि, सबै तिम्रा साथीहरूसँगको भन्दा फरक छ, “केटी भएर पनि" निर्धक्क रक्सी चुरोट खाने मेरा साथीहरू छन्, तिमी र म सँगै जिन्दगी बिताइरहेका मान्छे हौँ, तर एउटै मान्छे होइनौं, तिम्रा कतिपय साथी पनि म छड्के आँखाले देख्न सक्दिन तर उनीहरूलाई तिम्रो साथीहरूको रुपमा सम्मान गर्छु, तिमी पनि मेरा साथीहरू लाई त्यही रुपमा सम्मान गर, यो कुरालाई हामी समानान्तर राखौं, नमिसाउँ भनेर कन्भिन्स गराउन नपरेको होइन । त्यो एरियामा मैले काम गर्न नपरेको होइन ।
आज पोखरामा मेरा पुरुष साथीहरु मेरो घरमा आउँछन् ,भनिहालेँ । ढुक्कसंग मेरो श्रीमानको अगाडि घन्टौँ गफिएर जान्छन् । अझ कतिपयको त उसँग बरु पेसा मिल्ने भएकोले मसँग भन्दा बढी गफ उसैसँग हुन्छ । कतिपय मेरा सार्वजनिक वृत्तका "प्रतिष्ठित", "वरिष्ठ" र “प्राज्ञिक” साथीहरुसँग म असाध्यै अनौपचारिक भएर बोल्छु, झपार्छु, थर्काउँछु, वादविवाद गर्छु, उनीहरुको व्यक्तित्वको "उचाइ" को हिसाबले दिनुपर्ने जति इज्जत दिन्न भनेर बरु उ मलाइ पो गुनासो गर्छ । ल, यो त मेरो श्रीमानलाई मेरो बिहे अगाडिकै पारिवारिक पृष्ठभूमि र मेरो व्यक्तिगत प्रकृति पनि थाहा भयो, उ आफै पनि कम रुढीवादी मान्छे हो र मलाइ यो सुविधा छ भन्न मिल्ला ।
तर हाम्रा पुरुष साथीहरुसँग हामीले निर्धक्क संगत गरेबापत हामीले घर बाहिरका लान्छना र बदनामी भोग्नुपरेन ? हामीलाई कुरा काट्ने र शंका गर्ने मान्छे भएनन् ? छरछिमेकीले निगरानी गरेनन् होला ? बरु पहिलादेखि कति गरे र आजसम्म नि कति गरिरहेका छन् । त्यसको लेखाजोखा नै छैन ।
पोहोर साल साउन भदौको कुरा हो । म पोखरामा डेढ महिना एक्लै थिएँ, मेरो श्रीमान र छोराछोरी चितवन थिए । हामी क्याम्पस क्वार्टरमा बस्छौँ । कोविडकालमा धेरैजसो समय सडकमा भइरहने, पत्रकारिता वा राजनीति गर्ने साथीहरुलाइ त मैले क्याम्पस भित्र नआउ नै भनेको थिएँ । किनभने सिंगो क्याम्पस मेरो घर हो र यसलाई सरुवा रोगबाट सुरक्षित राख्नुपर्छ भन्ने न्युनतम जिम्मेवारीबोध म मा छ । डेढ महिनाको त्यो अवधिमा एकजना पुरुष साथी र एकजना महिला साथी आफ्नी बहिनी सहित नियमित मेरो घरमा आउँथे । मैले म पोखरा आएको भोलिपल्टै उनीहरुको हुलिया दिएर क्याम्पसका तीन चारजना गार्डहरु जम्मा भएको बेला भन्दिएको थिएँ, मेरो घरमा नियमित आइरहने यी तीनजना मान्छे हुन्, उनीहरु पूर्ण सुरक्षित छन्, आफ्नो घरबाट सीधा मेरो घरमा आउने हुन्, गेटमा बिना रोकतोक आउन दिनुहोला । तर मैले यो भनेको बेला छुटेको जुन सेक्योरिटि गार्ड थिए, उनले यस्तै आठ दस दिनपछि मरो श्रीमानलाइ मेसेज गरेर भनेछन्, "म्याडमले घरमा (केटा ) मान्छे ल्याउनुहुन्छ ।" गर्न त उनले मेरा ती दिदीबहिनी साथीलाई पनि अनावश्यक केरकार गरेकै थिए । तर "मान्छे ल्याउनुहुन्छ" भनेर मेसेज गर्नुमा भनिएको "मान्छे" को आसय अलग्गै थियो । किनभने त्यो मेसेज मेरो पुरुष साथी आएको आसपासको समयमा गएको रैछ भनेर मैले भोलिपल्ट दिउसो मात्र मेरो श्रीमानबाट थाहा पाएँ । मेरो श्रीमानले फोनमा दुइजना मेरा पुरुष साथीको नाम लिएर "यिनै दुइजना मध्ये एक त होलान्, मैले गार्डलाइ कराएँ," भनेर एकदमै स्वाभाविक रुपमा भने । तर जब मेरो कानमा त्यो कुरा पर्यो, मलाइ असह्य भयो । मैले कुरा उठाएँ , हेड गार्डले पछि भने, "तपाइलाई गरेको दुर्व्यवहारको लागि, त्यो मेसेज पठाएकोमा मैले उसलाइ सात दिनको लागि निलम्बन गरेँ।"
यसरी कुनै संस्थाको सेक्योरिटी गार्ड जसको ड्युटी संस्थाको भौतिक संरचनाको पहरेदारी मात्र हो, ले समेत श्रीमान र छोराछोरीको अनुपस्थितिमा मैले कुनै "अवान्छित" गतिविधि नगरोस् भनेर मेरो नीजि जिन्दगीमाथि निगरानी गरेर मेरो "चरित्र" को समेत पहरेदारी गरेको छ । त्यो घटनाको अपमान बोधले कति दिन बाटोमा समेत रुँदै हिँडेको छु, कति रात नसुतेको छु, कति छाक भोकै बसेको छु र कति चर्को स्वरमा उनीहरुसँग झगडा गरेको छु यो मलाइ मात्र थाहा छ । मलाइ त्यतिबेला मजस्ता "एक्टिभिस्ट" भनिने महिला त मानसिक रुपमा यति गलेँ । श्रीमानको मृत्यू भएका वा वर्षौँसम्म श्रीमान विदेश भएका सर्वसाधारण महिलाको जीवनमा समाजको कति निगरानी हुँदो हो भन्ने सोचले थप निरास बनाएको थियो । तर यी सबै कुरा मैले म आफैभित्र प्रोसेस गरेर सकाएँ । मेरो साथीलाई कहिले भनिन । किनभने यो मेरो आफ्नो जिम्मेवारी हो, यसमा काम गर्ने मैले हो, मभन्दा फरक लिंगको भएकैमा मेरो घरमा पहुँच पाउनबाट मेरो साथी वन्चित हुनुहुँदैन भन्नेमा म स्पष्ट थिएँ ।
पोहोरकै माघमा मेरो श्रीमान नभएकै बेला दुइपटक यस्तै कुरा भए । एकजना पत्रकार साथी र म साँझ साढे ६ तिर घरबाहिर आगो बालेर बसेर गफ गरिरहेका थियौँ । मेरो खुट्टाको लिगामेन्ट च्यातिएको थियो । उ आएपिच्छे "यसरी हिटर तापेर नि खुट्टा सन्चो हुन्छ ?" भन्दै हत्तपत्त दाउरा बटुलेर आगो बाल्थ्यो । यत्तिकैमा एकजना छिमेकी मास्टर "रेकी" गर्न आए । "जीवन (मेरो श्रीमानको नाम) खोइ?" भनेर "मीठो" लवजमा सोधे । मैले काठमान्डु गएको छ भनेँ । कहिले भने । आजै भनेँ । उनी के उद्देश्यले आएका मलाइ थाहा थियो । मेरो रगत उम्लिसकेको त थियो, तर मैले सकेसम्म त्यसलाइ दबाएर भनेँ, "बस्नुस् न सर् ।" खासै केही "गडबडी" वाला काम भएको रहेनछ भन्नेमा ढुक्क भए होलान् उनी, "होइन भयो भयो" भनेर गए । मैले साथीलाई हाँस्दै भनेँ, "तिमी र म मेरो लोग्नेको अनुपस्थितिमा के गरिरहेका छौँ भनेर चेक गर्न आउनुभएको "सर" । साथी आँ गरिरह्यो केही छिनसम्म । र दस मिनेट जतिसम्म दोहोर्याएर भनिरह्यो ,"ओहो, एउटा पिएचडी होल्डर प्राध्यापकको अनुसन्धानको विषय बन्न पाएँ आज म ।"
अलि दिनपछि फेरि मेरो श्रीमान नभएकै बेला रिपोर्टिङ गरेर फर्केको बेला पसेको मेरो त्यही साथी र म त्यसैगरी बाहिर आगो बालेर गफ गरेर बसेका थियौँ । सँगै मेरो छोरी पनि थिइ । रिटायर भएर क्वार्टर सरेर जान लागेका अर्का मास्टरले घरको आँगनको सीमामा उभिएर चर्को स्वरले बोलाए, "जीवन सर!" उनलाइ जीवन पोखरामा छैन भन्ने थाहा नभएको होइन र उनलाई त्यो कुरा थाहा छ भन्ने मलाइ पनि थाहा थियो । तर पनि पोखरा नै छोडेर जान लागेको मान्छेसँग के रिस देखाउनु भनेर मैले सकेजति नम्र भएर भनेँ, "जीवन सर त हुनुहुन्न सर," उनले भने, "हामी आउन मिल्छ कि मिल्दैन?" अर्थात उनले मुखले नभनेको कुरा थियो, केटासँग बसिरहेकी छस्, आउँ कि नआउँ आउन हुने हालतमा छेस छैनस् । मैले आफ्नो उम्लेको रगतलाई थाम्दै भनेँ, "किन नहुनु सर, आउनुस् न ।" नौ बजे क्याम्पसको ढोका बन्द हुन्छ । साथी घरबाहिरै चिया खाएर आठ बजेको आसपासमै आफ्नो घर गयो उ भित्र समेत पसेन । मैले ती "सर" आउलान् कि भनेर दस बजेसम्म घरको ढोका नलगाइ कुरेँ तर उनी आएनन् । उनलाइ बिदा माग्न आउन परेकै थिएन । उनले त मलाइ लोग्नेको अनुपस्थितिमा "परपुरुष" घरमा ल्याएकोमा आफूले छिमेकीको हिसाबले गर्नुपर्ने निगरानी गरेर कर्तव्य निर्बाह गरिदिएका थिए । मेरो श्रीमानको अनुपस्थितिमा मेरो "चरित्र" को पहरेदारी गरिदिएका थिए । र चरित्र नभएकी मसँग मेरो श्रीमान नभएको बेला भोलिपल्ट दिउसो पोखरा नै छोडेर जाने बेला पनि बिदा हुने दरकार उनले महसुस गरेनन् । त्यो साथी मेरो श्रीमानको उपस्थितिमै पनि बीसौँपटक आएर घन्टौँ बसेको छ, विज्ञानसँग सम्बन्धित कतिपय शब्दको अर्थ थाहा पाएर मात्र समाचार लेख्ने भनेर विज्ञान पढेको मेरो श्रीमानसँग सिकेर बसेको छ । तर म मात्र भएको दिनमा उ आयो भने यसरी छिमेकीले ममाथि पहरेदारी गरिदिने ड्युटी निशुल्क गरेका छन् । यस्ता अनुभव दसौँवटा छन् ।
मेरी १३ वर्षकी छोरीकै अगाडि र साथीको अगाडि मलाइ त्यतिसम्म अमर्यादित व्यवहार गरेर जानसक्ने दुस्साहस गर्ने मान्छे छन् । तर यी सारा अपमानजनक, अमर्यादित भोगाइ मैले आफैभित्र राखेँ । बदलामा मैले कुनै दिन, कुनै क्षण मेरा साथीहरुलाइ मेरो घरमा श्रीमान नभएको बेला तिमीहरु नआओ, छिमेकी यस्ता छन्,गार्ड यस्ता भनेको छैन । किनभने नेपाली समाजका उत्पादन यस्ता व्यक्तिको यस्तो व्यवहार अपेक्षित हो र यसको असर मेरा साथीहरुसँगको सम्बन्धमा पर्न दिनुहुन्न भनेर मलाइ थाहा छ ।
यस्ता कुराहरुबाट आफ्नो उर्जा बचाउन, आफूलाइ सुविधामा राख्न, आफ्ना सीमा नधकेलेर आफ्नो जिन्दगीको कथित शान्ति कायम राख्नको लागि म आफ्ना साथीहरुलाई अपमान र अमर्यादा कुनैपनि हालतमा बोकाउन्न, चाहे उ जुनसुकै लिंगको होस् भन्ने मलाइ थाहा छ । यो कमन सेन्सको कुरा हो र म मा यति कमन सेन्स छ । र यो कमन सेन्स कायम राख्न जतिसुकै लड्न भिड्न परे पनि चाहिने जति तागत मसँग छ । त्यो तागत सेक्योरिरिट गार्ड वा छिमेकी होइन, परिआए आफ्नै लोग्नेसँग लड्नुपरे पनि छ । किनभने यी सबै कुराभन्दा मेरो लागि मेरा साथीहरु माथि छन् र उनीहरुको लिंग कुन हो भन्ने प्रश्नभन्दा माथि छन् । हामीले साथीहरुलाई माथि राखेकै कारणले यी सबै लान्छनाको भारी बोकेका छौँ, जोखिम उठाएका छौँ, बदनामी ब्यहोरेका छौँ ।
बाउआमा र लोग्ने रुढीवादी थिएनन् मेरो हकमा । त्यो एउटा संयोग भयो । भए नै पनि कुनै व्यक्ति फरक लिंगको भएकै आधारमा उसलाइ साथीको दर्जाबाट वन्चित गरिनु, निजी वृत्तमा पहुँच नदिइनु , फोनमा बोल्ने समेत स्वतन्त्रता नदिनु, घरमा पहुँच त मर्ने बेलासम्म नि न दिनु , उसको हकमा हामीले गरेको अत्यन्त अमर्यादित व्यवहार हुन जान्छ र मैले त्यो गर्नु हुँदैन, तिमीलाइ समस्या भए तिमी आफै म्यानेज गर भनेर हामीले भन्नुपर्ने होइन ? म मेरो जिन्दगीमा जोडिएका साथीहरुको मूल्य गर्छु र त्यसको लागि लड्छु । त्यसको लागि उनीहरु कुन लिंगका हुन् भन्ने कुरा मेरो लागि गौण हो । मजस्तै मैले कुरा गरेका मेरा महिला साथीले पनि भनेका छन् उनीहरु आफ्ना साथीको लागि कति लडेका छन् ।
आफ्नो भोगाइका योभन्दा धेरै विवरण उल्लेख गर्न म चाहन्न, तर हाम्रा पुरुष साथीहरु जानुन्, यसको दाँजोमा उनीहरुले हामीलाई साथी भनेर चिनाउन कतिवटा माथि उल्लेख भएभन्दा निकै साना, निकै कम जोखिमयुक्त परिधि नाघेका छन् ? आफ्नो प्रिभिलेजबाट डेग नचल्ने, आफ्नो घरको, जीवनको कथित शान्ति नबिगार्नका लागि आफ्नो स्त्रीलिंगी साथीको मर्यादा छियाछिया पारिरहने र उसले आफ्नो सुविधा अनुसार लुकीलुकी "साथी" को रुपमा उपलब्ध भइदिइ रहोस् भनेर अपेक्षा राखिराख्नु कति ठूलो निर्लज्जता हो ? महिलाको वस्तुकरणको विरोध गर्ने तर महिला भएकै आधारमा हामीलाई वस्तु जसरी आफ्नो सुविधामा प्रयोग गर्ने वा लुकाउने कति ठूलो द्वैध चरित्र हो उनीहरुको ?
सम्बन्धमा व्यापार त नहोला, सय रुपैयाको नोट दिए सय रुपैयाकै सामान पाउनुपर्ने नियम नहोला , तर विज्ञानको सिद्धान्त भनेर स्कुलमा पढिएको छ, हामी जति बढी आफ्नो उर्जा पठाउँछौँ त्यति नै बढी फिर्ता आउँछ । हुन सक्ला, मानवीय सम्बन्धमा केही कम र केही बढी । तर कसैले अमर्यादाकै सम्पूर्ण हद सहेर आफूलाइ साथी ठानिरहोस् र आफूमाथि भावनात्मक लगानी गरिरहोस् भनेर कसैले अपेक्षा राखिरहन्छ र त्यो वर्षौँ बित्दा पनि उस्तै रहिरहन्छ, उसले आफ्नो तर्फबाट वर्षौँसम्म कुनै कामै गर्दैन भने उसले हामीलाइ साथी सोच्दैन भन्ने स्पष्ट छ । उसले हामीलाइ वस्तु सोच्छ, कुनै मनोरन्जन दायक वस्तु, जसलाइ उ आफ्ना सम्पूर्ण झमेला सकाएर, आफ्नो सुरक्षाको पूर्ण ग्यारेन्टी गरेर, आफ्नो जिन्दगीको कथित शान्ति नबिथोलि कन, कसैले नसुन्ने-नदेख्ने गरी फुर्सदको समयमा मनोरन्जन लिने बेला मात्र प्रयोग गर्छ ।
सार्वजनिक खपतका लागि महिला पुरुष समानताको कुरा गर्नु, नारीवादी पुरुष भनेर चिनिनु, महिला मुक्तिको लडाइ लडेको दाबी गर्नु, महिलालाई वस्तु ठानिने परम्पराको विरोध गर्नु, आफ्ना संस्थामा थुप्रै नारीवादी छलफल र बहस चलाउनु , तर महिला भएकै कारणले, स्त्रीलिंगी भएकै कारणले आफ्नो जिन्दगीमा सार्वजनिक वृत्त मार्फत, वा व्यक्तिगत चिनजान मार्फत जोडिएका महिलालाई ढुक्कसँग मेरो साथी भन्न नसक्नु, घरको आँगनसम्म पहुँच दिने त कल्पना नै छोडौँ, बाटोमा सँगै हिँडेको कसैले देख्ला भनेर सातो जानु, बजारमा एक कप चिया खानु परे थरथर काप्नु , कसैले फोटो खिचौँ भनेर सोधे सबैभन्दा चर्को स्वरमा र सबैभन्दा पहिला झस्केर अहँ भन्नु आदि काम गरिरहेका मेरा घागडान नारीवादी, नारीमुक्तिका हिमायती आदि उपाधिधारी पुरुष साथीहरू लाई आफ्नो उक्त काम ढोंग र द्वैध चरित्र नलाग्ला । अझै समावेशी समाजको पैरवीकर्ता म आफैले यस्तो व्यबहार गर्नु त लाजमर्दो हो, यस्तो गरे मलाइ त्यो पैरवी गर्ने नैतिक अधिकार हुँदैन भनेर भन्न नसक्नु उनीहरुलाई आफ्नो निरीहता पनि नलाग्ला । तर आफूमाथि यस्तो हदैसम्मको अमर्यादा सहेर कसैको "साथी" बनिदिन तयार भइरहन्छु र आफूलाई असमानताको विरोधी भनेर राज्य र समाजले दिएको असमानताको विरोधमा चिच्याउँछु भने म आफू चाहिँ ढोंगी हुँ । यस्तो ढोंगको जिन्दगी अब चाहिँ म बाँच्दिन भन्नेमा म भने स्पष्ट भएको छु ।
उनीहरूले आफूलाई नारीवादी पुरुष वा नारीमुक्तिका योद्धा भनेर के हुन्छ ? जब हामीले उनीहरुसँग संगत गर्नुपर्दा हरेक मिनेट आफ्नो मर्यादालाई छियाछिया पारेर संगत गर्नुपर्छ ? त्यो पनि बिना कुनै कारण, बिना कुनै अपराध ? सम्बन्धमा बराबर उर्जा, सम्मान र स्थान महत्वपूर्ण कुरा हुँदैनथ्यो भने आजसम्म यो नपाइ नपाइ पनि "मित्रता" सहेकोमा हामीभित्र थुप्रिएको ट्रमाले हामीलाई आधारभुत भन्दा आधारभुत व्यवहारमा रुवाउँदैनथ्यो ।
हामी महिला भएकै कारणले यस्तो व्यबहार बारम्बार र वर्षौँसम्म भोगिरहनु पर्छ भने त्यो आफैमा लैंगिक विभेद हो । हामीलाइ साथी भनिरहनेहरु लैंगिक विभेदको सख्त विरोधी भनेर व्यक्तिगत सार्वजनिक गफहरु जोत्छन् । खोइ , फरक लिंगविशेषको भएकैमा हामीलाइ यतिसम्म अमर्यादित महसुस गराउनेहरुले लैंगिक विभेद विरुद्धको गफ जोत्न पनि कसरी सक्छन् । र हामी जसले फरक लिंगको व्यक्ति भएकैमा आफ्ना कथित साथीहरुले गरिरहेको यो अमर्यादाको भारी वर्षौँदेखि बोकेर हिँडि नै रहने हो भने हामीले जोतिरहेको गफ पनि झुटो हो भन्नेमा शंका छैन । अरुबेला असमानताको विरोधमा उफ्रनु , तर मानवीय सम्बन्धको सवालमा असमानता मात्रै होइन अमर्यादाको र मूल्यहीनताको हद स्वीकारेर कसैले ट्वाइलेटमा नलुकाइ पढ्न नसक्ने खालको खुला किताब रुपी साथी बन्दिइरहनु मेरो आफ्नो पनि द्वैध चरित्र हो भन्ने लाग्न थाल्यो ।
साथी भनेपछि साथी हो चाहे त्यो आफ्नो लिंगको होस् वा विपरीत लिंगको । हामीलाइ साथी भन्न चाहन्छन्, आफ्नो जिन्दगीमा राख्न चाहन्छन् भने उनीहरुले यसको लागि काम गरुन् । जसले हामीलाई ढुक्कसँग साथीको पहिचान दिन सक्दैनन्, उनीहरू हाम्रो मित्रताको पनि हकदार छैनन् । होला जिन्दगीमा खालीपन महसुस केही समय । तर त्यो त कीराले खाएको दाँत उखेलेर फाल्दा पनि हुन्छ । आजकल त मलाई यस्तै लाग्न लागेको छ ।
फरक लिंगको भएकै आधारमा कसैको साथीको दर्जा नपाउने खालको लैंगिक विभेद सहिरहेर आफूलाई लैंगिक विभेदको विरोधी भनिरहने ढोंग बाँच्दा खेरिको वर्षौँ लामो ग्लानि र अमर्यादाको बोझ अब चाहिँ म बोक्न सक्दिन । हाम्रो एक पैसा बराबरको पनि मूल्य छ भने उनीहरु यसमा काम गरुन् । होइन मूल्य र नाफाको हिसाबले हामी उनीहरुको जिन्दगीमा नभएर उनीहरुलाई फरक पर्दैन भने त्यो उनीहरुको छनौट । हामी आफ्ना सीमाहरुलाई नधकेली यहाँ पुगेका होइनौं । र आफ्नो सीमालाइ एक सेन्टिमिटर पनि नधकेलेर सधैँ आफ्नो सुविधामा हामीलाई प्रयोग गरिरहेको कामलाइ मित्रताको नाम दिने व्यक्तिहरु मेरा "मित्र" हुन सक्दैनन् ; लाउड एन्ड क्लियर !
हामी खुला किताब बनुन्जेलको यात्रा सजिलो थिएन । यो स्थितिसम्म आइपुग्न गरेका संघर्षको कहानी अलग्गै छ, बोकेका लान्छनाको भारी ठूलो छ । "खुला किताब" बन्ने दिनसम्म आइपुग्दाको हाम्रो समयको लगानी ,भोगेका लान्छना र त्यसको कारणले परेको मानसिक आघातको हिसाब बेहिसाब छ ।र वर्षौंदेखि आजसम्म संघर्ष जारी नै छ । मान्छेले हाम्रो निजत्व र रिकग्निसनलाई खारेज गर्दै हामीलाई आफ्नो सुविधा अनुसार "पढ्न" वा लुकाएर थन्क्याउनको लागि पढिने जस्तो किताब बन्नको लागि यतिका समयको लगानी र संघर्ष गरेको होइन ।
अब मलाई यस्तो खुला किताब बन्नु छैन जसले त्यो किताब खोकिलामा लुकाएर मात्रै शौचालय लान ल्याउन सक्छ र त्यहीँ बन्द ढोकामा मात्रै पढ्न सक्छ । र मलाई आजसम्म मैले शौचालयमा लुकेर पढिने किताबको भन्दा माथिल्लो स्थान पाएको रहेनछु भनेर महसुस गराइदिने साथीलाई धेरै धन्यवाद । उसले त आफूले के गरिरहेको छु भन्ने थाहै नपाएरै गरेको स्वाभाविक काम हो । तर त्यही कामले मलाइ मैले बाँचिरहेका द्वैधता मध्येको एउटा भएपनि कम गर्न नराम्ररी झक्झक्याइ दियो । त्यसको लागि पनि उसलाई धन्यवाद ।
1/7/2022 2.48 AM
Pokhara, Nepal